images

कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

काठमाडौं–कोरम नपुगेपछि मङ्गलवारका लागि तय अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मङ्गलवार बिहान साढे १० बजेका लागि बोलाइएको समितिको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ मात्रै समयमा पुगेका थिए । तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्ने थियो । तर ८ जना मात्रै सांसद उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठक हलबाट बाहिरिएका थिए ।

मन्त्री श्रेष्ठपछि सचिव र कर्मचारीहरू पनि बैठक छोडेर बाहिरिए । बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो । त्यस्तै विदेशस्थित नेपाली नियोगहरूको अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षका बारेमा समेत छलफल हुने कार्यक्रम थियो ।