images

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै जसपा सरकारबाट बाहिरिएको हो ।

आइतबार जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महरासित कुरा नमिलेपछि मन्त्री पदबाट राजीनामा दिएको बताए ।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सहमति अनुसार दुई मन्त्रालय नदिएकाले बिहीबार बसेको जसपा लुम्बिनी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताए । उनले जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीमा रहेका अहिरलाई सरकारबाट फिर्ता बोलाइएको बताए ।

सङ्घीय सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री छन् ।