images

गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयोः मन्त्री चौधरी

काठमाडौं–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन् । पत्रकारिता पेसामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएको प्रसङ्ग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको बताइन् ।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेसा भएको बताइन्। उनले पत्रकारिता पेसालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन् ।

मन्त्री चौधरीले भनिन्, ‘पत्रकारिता पेसामा दुःख चाहिँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईँहरूकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईँहरू यदि राम्रो ढङ्गले जाने हो भने यद्यपि केही कुराहरू उहाँको विषयमा उठेको अवस्था छ । यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेसा नराम्रो होइन । त्यसो त यो सम्मानित पेसा हो । गर्न सक्यो भने धेरै राम्रो हुनसक्छ ।’

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेसाको रूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण समेत गरिन् ।