images

समाजवाद नै अबको क्रान्तिको बाटो हो: प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवाद नै अहिलेको आवश्यकता र महत्त्व भएको बताएका छन् । सोमवार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको स्पष्ट पारे । उनले समाजवाद नै अबको क्रान्तिको बाटो भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरू कुनै न कुनै रूपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताए । उनले चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्ग सङ्घर्षको नियम भएको बताए । राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिस्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने बताए  ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने,’दैनिक समस्या समाधानका निम्ति पनि समाजवादको विकल्प छैन । समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रूपले सहकार्य र कुनै न कुनै रूपले एकतामा जान आवश्यक छ । अहिले धेरै जोखिम र चुनौती भए पनि हामी कमरेड माधवजीले म तिर हेरेर प्रधानमन्त्रीज्युले नै भन्नुहोला भन्नुभयो । म के भन्छु भने चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्ग सङ्घर्षको नियम नै हो । जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिस्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’