images

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

साथै इजलासले एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कलप्रति समेत राखेर लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको छ । रिटलाई अग्राधिकार दिएर २३ वैशाखका लागि पेशी तोकिएको छ ।

त्यस्तै गण्डकी सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत समर्थन रहेको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्ति बदरको माग गर्दै रिट दिएका थिए ।

सो रिटमा सोमबारदेखि न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ । सोमबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।