images

सार्वजनिक बिदाबारे गृहमन्त्री लामिछानेको स्पष्टोक्ति, तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ

काठमाडौं–कतारका राजाको सवारीमा नेपालमा दिएको सार्वजनिक बिदाबारे सामाजिक सञ्जालमा आलोचना भएको छ । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले त्यसबारे प्रष्टीकरण दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत तीन दशक देखिको अभ्यास भएकाले त्यसलाई सच्याउन समय लाग्ने बताएका छन् । उनले लेखेका छन्, ‘विगतका कयौँ निर्णय र परम्परा छन् जसलाई नीतिगत निर्णय गरी सच्याउनु पर्छ। अनावश्यक बिदा, भिआइपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भुतपुर्वहरुलाई दिँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदै छ।’

उनले थप्दै भनेका छन्, ‘विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कूटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’

साथै लामिछानेले विश्व अर्थ राजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौँ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कूटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा स्वागत छ भन्दै उल्लेख गरेका छन् ।