images

धनुषाबाट अपहरणमा परेका एक पुरुषको सकुशल उद्धार ,अपहरणमा संलग्न ५ जना पक्राउ

धनुषा– धनुषाबाट अपहरणमा परेका उदयपुरका एक पुरुषको सप्तरीबाट प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् ।

लालबहादुरलाई एक समूहले चार पाङ्ग्रे गाडीमा राखेर सप्तरीतर्फ लागेको थियो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले सप्तरीको कडरबोनाबाट गाडीलाई रोकेर अपहरणकारीसहितलाई नियन्त्रण लिएको बताए ।

धनुषाको मिथिला नगरपालिका ६ बाट मङ्गलवार दिउँसो उदयपुरको कटारी नगरपालिका १० का लालबहादुर थापा मगर अपहरणमा परे । उनका आफन्तले धनुषा प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै प्रहरीले खोजतलास अघि बढाएकाे थियाे।

धनुषा प्रहरी अनुसार गाडीसहित अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका १ का जयकुमार तामाङ, सोही स्थानका मनिश विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिराहाको गोल बजार नगरपालिका ६ का शङ्कर लामा र वडा २ का अरुण कुमार लामा छन् ।

वैदेशिक रोजगारी सम्बन्धी लेनदेनको विवादपछि लालबहादुरलाई अपहरण गरेको खुलेको छ,’ डिएसपी अवाले भने, ‘रामबहादुरले पैसा लियो तर फिर्ता नगरेपछि अपहरण गरेको पक्राउ परेकाहरूको भनाई छ ।