images

काठमाडौँ महानगरपालिका भित्रका १ लाख वटा स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौं– स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदै छ । यसमा सबैभन्दा धेरै बिमित वडा नं। १५ का रहेको महानगरपालिकाले जनाएको छ । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुने भएको छ । बिमा गराउने कार्य नियमित चल्ने समेत महानगरपालिकाले जनाएको छ । कार्ड हरेक ३ महिनामा जारी गरिने भएको हो ।

अहिले वडा नं। ८ को राम घाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. २६ लैनचौर, वडा नं. १४ कलङ्की, वडा नं. १९ कंकेश्वरी र वडा नं. ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्र बिमा बोर्डमा सूचीकृत छन् । बिमित व्यक्तिहरूले छानेका यी केन्द्रहरू सुरु सम्पर्क विन्दु हुन् । यिनै केन्द्रहरूबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिन्छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइनेछ ।

यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । यसका लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई ४ दिने सफ्टवेयर सञ्चालन तालिम सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको तालिममा विवरण प्रविष्टि, उपचार सेवा, प्रयोगशाला तथा औषधिको विवरण अभिलेखन, प्रतिवेदनलगायत सिप सिकाइने बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका फोकल पर्सन कमलप्रसाद भट्टराई भन्छन्, ‘कागजविहीन उपचार सेवाका लागि केन्द्रका स्वास्थ्यकर्मीलाई प्रविधि र प्रणाली सिकाउन तालिम गराएका हौँ । यसमा बिमित व्यक्तिले कार्ड देखाएपछि त्यसका आधारमा सफ्टवेयरमा नाम रजिस्ट्रेसन गरिन्छ । यसपछिका सबै प्रक्रिया सफ्टवेयरमार्फत नै हुन्छन् ।’ उनका अनुसार आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसीका सबै सेवा अनलाइन हुनेछन् । यसबाट बिरामीको वास्तविक अवस्था उही नै समयमा सम्बन्धितले थाहा पाउन सक्नेछन् । बिमा बोर्डले आफूले रकम भुक्तानी गर्नु पर्ने बिरामीको स्वास्थ्य उपचार र अवस्थाका बारेमा त्यही प्रणालीबाट सूचना तथा विवरण थाहा पाउनेछ ।

सूचीकृत भएकाबाहेक अन्य सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरूको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधिलगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरूको प्राप्तिका काम गरिरहेको छ ।

यसको व्यवस्थापनपछि बिमा बोर्डमा सूचीकृत गराएर पहिलो सम्पर्क विन्दु बढाउँदै लैजाने योजना रहेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनको भनाइ छ । सबै ९१—३२० वडाका लागि बिमा दर्ता सहयोगीले बिमा गराइरहेका छन् ।

सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकेको छ ।

यस कार्यक्रममा बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगरपालिकाअन्तर्गत रहेका प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।

स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति

महानगरपालिकामा प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति गठन भएको छ । समितिको सदस्यमा वडाध्यक्षहरूको प्रतिनिधिका रूपमा वडा नं। ५ का अध्यक्ष वीरेन्द्र प्रजापति रहेका छन् । महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य संस्थाकारतर्फबाट प्रतिनिधि, उज्ज्वल पन्थी, महिला स्वास्थ्य स्वयंसेविकाको प्रतिनिधि गङ्गा महर्जन, बिमा बोर्डका प्रतिनिधि कृष्ण पोखरेल, महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार रहेका छन् ।

समितिका काम

स्वास्थ्य संस्थाहरूमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तरता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम विस्तार गर्न प्रवर्द्धनात्मक कार्यमा सहयोग काम गर्ने संयोजन समितिको काम हो । समितिले, सरकारी, सार्वजनिक संस्थाहरूका कर्मचारी र परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउन नियमावलीले तोके बमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आबद्ध गर्नेछ । अति गरिब परिवारलाई कार्यक्रममा आबद्ध गर्न पालिका र बोर्डबिच समझदारी गर्नेछ । नसर्ने रोगका लागि कार्यक्रमले दिई आएको सुविधा उपलब्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ ।

बिमाबाट प्रदान गरिने औषधिहरू पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूले सञ्चालन गरेका फार्मेसीमा उपलब्ध हुने व्यवस्थामा सहयोग गर्ने, गराउनेछ । स्वास्थ्य संस्थाहरूमा चिकित्सकको उपलब्धता हुने व्यवस्था गर्ने, गराउनेछ ।