images

एमाले–कांग्रेस सहकार्यमा माधव बाधक , प्रचण्डलाई किनारा लगाउने तयारी !

काठमाडाैं–नेपाली राजनीतिमा नयाँ समीकरण बन्नु र भत्किनुलाई खासै अनौठो मानिँदैन । राजनीतिक दलहरूको सत्ता स्वार्थ र अहिलेको निर्वाचन प्रणाली नै यसका मूल कारण हुन । निर्वाचन प्रणालीअनुसार कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था छैन ।

बहुमत नभएपछि गठबन्धनको संस्कृति हाबी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बनेको केही महिना मात्र बितेको छ । फेरि गठबन्धन फेर्ने गतिविधि अघि बढेको छन् । त्यसका लागि एमाले र नेपाली काङ्ग्रेसबिच सहकार्यका लागि बहस भइरहेका छन् । जसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रैसँग झस्काएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर मनस्थिति र उत्ताउलो क्रियाकलापले समीकरण फेरबदल हुँदै आएको छ । पटक पटकका राजनीतिक धोकाधडीपछि प्रधानमन्त्री दाहाल यहाँसम्म आइपुगेका छन् । कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमाले यी दुई दलको समर्थन लिएर उनी प्रधानमन्त्रीकै कुर्सीमा बहाल भइरहने अभ्यास गरिरहेका छन् । नयाँ समीकरण बन्ने बेला विभिन्न सहमति गर्ने तर सहमति कार्यान्वयन गर्ने समय आएपछि अर्को समीकरण निर्माण गर्नमा दाहाल जतिको सामर्थ्य अन्य नेतामा छैन । उनी जोसुकैसँग पनि सहकार्य गर्न तयार हुन्छन् । उनको यो अस्थिर शैली नेपाली राजनीतिका लागि घातक साबित हुँदै छ । तेस्रो शक्ति तर निर्णायक शक्तिका रूपमा रहँदा ठुला दलहरू भूमिकाविहीन बनिरहेका छन् । यही क्रममा अहिले मुलुकका दुई ठुला दल कांग्रेस र एमाले आपसमा सहकार्य गर्नुपर्ने बहस सतहमा आएको छ । सबैलाई धोका दिएर आफूले फाइदा लिएका प्रधानमन्त्री दाहाललाई सरकारको नेतृत्वबाट च्युत गराउने यो उत्तम विकल्प पनि भएको विश्लेषण हुँदै छ । यदि यी दुई शक्ति आपसमा सहकार्यमा आए भने दाहाल आफैँ किनारा लाग्नेछन् । अहिलेको राजनीतिक गतिविधि यसमै केन्द्रित भइरहेको छ ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सङ्केत गरेका थिए । काङ्ग्रेससँग वार्ता गरे सहकार्यको हात अघि बढाउन ओलीको आग्रह थियो । त्यति बेलै प्रधानमन्त्री दाहाल झस्किएका थिए । अहिले राजनीतिक वृत्तमा विकसित घटनाक्रम त्यति बेलाकै मूर्त रूप मात्र हो । उसै पनि गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी असन्तुष्ट नै छ । उसले पनि काङ्ग्रेससँग सहकार्यको हात अघि बढाइरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री दाहाल नेतृत्वको सत्ता समीकरण सङ्कटको डिलमा पुगेको छ ।

नयाँ सत्ता समीकरण बनेको दिनबाटै खटपट सुरु भएयता शङ्का र अविश्वास अझै हट्न सकेको छैन । जसलाई प्रदेशमा निर्माण हुन नसकेको सरकार र जबरजस्त रूपमा बिस्तार गरिएका सरकारले मलजल गरिरहेको छ । अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड नैतिक सङ्कटमा परेका छन् । काँग्रेसले नपत्याउने र एमालेले जनताको नजरमा गिराउने प्रयत्न गर्दा सिङ्गो माओवादी पार्टीलाई यसले असर गरेको विश्लेषण हुने गरेको छ ।