images

मुख्यमन्त्री अधिकारीको विश्वासको मत विरुद्ध कांग्रेसद्वारा रिट दायर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

६० सदस्यीय प्रदेशसभामा सभामुख कृष्ण धितालले ३० मतमै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढङ्गले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

उनले संविधानको धारा १६८ ९२० अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठुलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक हुन्छ । कांग्रेसले सभामुखको कदम असंवैधानिक भएको ठहर पनि गरेको छ । सभामुखले संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत असंवैधानिक कार्य गरेको कांग्रेसको दाबी छ ।