images

सदनमा बोल्न पाउँ भन्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन् ।

मङ्गलवार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसद्को आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् । सङ्घीय संसद्को अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरूले सोधेका प्रश्नको जवाफ संसद्मा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको भनाइ छ । यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लङ्घन भएको उपप्रधानमन्त्री लामिछानेले बताए ।

जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरूले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनको भनाइ छ । यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरूमा संसद्मा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइदिन उनले सभामुखलाई आग्रह गरेका छन् । संसद्को हिउँदे अधिवेशनमा कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम जोडिएको भन्दै संसदीय छानबिन गर्न माग गरेको थियो ।