images

सभामुख घिमिरेले बोलाएको सचेतकहरूको बैठक निष्कर्ष विहीन

काठमाडौं–सभामुख देवराज घिमिरेले बोलाएको दलहरूका सचेतकहरूको बैठक निष्कर्ष विहीन भएको छ । संसद् सुचारु गर्ने विषयमा सभामुख घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनु पर्ने अडान दोहोर्‍याएपछि बैठक निष्कर्ष विहीन भएको हो ।

सभामुख देवराज घिमिरेले मङ्गलवार संयुक्त सदनमा पेस हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउने लगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्‍याएको बताए ।

उनले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने जिकिर गरे ।

‘सरकारले कसरी डिल गर्छ त्यसमा भर पर्छ । हामीले संसदीय समिति छानबिनको अडान सभामुखसमक्ष पनि दोहोर्‍याएका छौं । प्रधानमन्त्रीले कुन मार्गबाट निकास दिनुहुन्छ । त्यो उहाँको काम हो’, उनले भने ।

त्यसैगरि सत्तारुढ घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानुन संवत् नभएको जिकिर गरे ।

‘नेपाली कांग्रेसले समितिको नाममा सरकार माग गरेको हो । त्यो सम्भव छैन । नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन ।’