images

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले भने,संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायम छ । सरकारले संसद्को अवरोध खुलाउने सङ्केत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’

मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

तर कांग्रेसले संसदीय छानबिन समिति नबन्दा सम्म सांसदलाई अवरुद्ध जारी राख्ने अडानमा उभिएको हो । यस अघि सभामुख देवराज घिमिरेले संसद् सुचारु गर्नका लागि सहजीकरण गर्न भन्दै दलहरूका सचेतकको बैठक बोलाएका थिए । तर बैठकमा एमालेले संसदीय समिति नबन्ने अडान लिएपछि बैठक विना निष्कर्ष टुङ्गिएको थियो ।