काठमाडौं– पार्टी विभाजनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन् ।
निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । रिटको पेशी जेठ २ गतेका लागि तोकिएको छ ।