images

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको आग्रह सहकारीका समस्या समाधान हुन्छन्, संसद् अवरोध नगर्नुस्

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ ।

मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए । काङ्ग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रूपमा आफू लागिपरेको बताएको प्रमुख सचेतक लेखकले जानकारी दिए । उनले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने बताए । छलफलका लागि प्रधानमन्त्री दाहालले बोलाएपछि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए । छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रमुख सचेतक लेखकले बताए ।

उनले भने ‘प्रधानमन्त्रीज्युले बोलाएपछि माननिय गगन थापाजी र म प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका छौँ । मूलतः प्रधानमन्त्रीज्यूले दुई वटा कुरा भन्नुभएको छ । समस्या जुन छ, सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्न मैले पूरै कोसिस र काम गरिरहेको छु र समस्या समाधान गर्न प्रयासरत छु भन्नुभयो । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिइदिनुस्, सहयोग गरिदिनुभयो भन्नुभएको छ । म समस्या समाधानका लागि लागिपरेको छु भन्नुभएको छ । हामीले उहाँले भन्नुभएको कुरालाई संसदीय दलको बैठकमा निर्णय गरेर निष्कर्षमा पुग्छौँ भन्नुभएको छ । समस्या समाधानका लागि सबैसँग छलफल गरिरहेको र समस्या समाधान गर्ने प्रयत्नमा छु भन्नुभएको छ, यसलाई हामी व्यवहारमा देख्न चाहन्छौँ । सहकारीको यत्रो ठुलो रकम अपचलनमा उहाँ जिम्मेवार हुनुहुन्छ । काँग्रेस डराउनुपर्ने कारण छैन । प्रधानमन्त्रीले भनेको कुरा सरोकारको विषय हो ।’

उनले सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाउनुभएको प्रतिबद्धता कांग्रेसले व्यवहारमा देख्न चाहेको बताए ।