images

सचेतकहरूसँगको बैठकमा सभामुखले भने, संसद् अवरुद्ध हुँदा संवैधानिक सङ्कट आउन सक्छ

काठमाडौं– सभामुख र दलहरूका प्रमुख सचेतकहरूसँग छलफल सकिएको छ । मङ्गलवार दिउँसो सिंहदरबार मा सभामुख र दलहरूका प्रमुख सचेतकहरूसँगको बैठक सम्पन्न भएको हो ।

बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले लामो समयदेखि भएको संसद् अवरुद्धले संवैधानिक सङ्कट उत्पन्न गर्ने बताए । सभामुख– दलहरूबिच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल गरेका थिए । उनले भने, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन । राजनीतिक दलहरुबीच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएको छ । संवैधानिक सङ्कट हुने अवस्था नआओस् ।

त्यसै गरी नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताइन् । उनले भनिन्, छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।

रास्वपा संसदीय दलका सचेतक सन्तोष परियारले गृहमन्त्रीले संसदमा बोल्न पाउनु पर्ने दाबी गरे । उनले भने, गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।

सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी समेत गराएका छन् । उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग दिउँसो २स्०० बजे संसद् भवन बानेश्वरमा छलफल गर्ने भएका छन्। आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम, प्रतिनिधि सभामा जारी अवरोधका बीच राष्ट्रिय सभा बैठकलाई कसरी सुचारु गर्ने लगायतका विषयमा छलफल हुनेछ।