काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनमा पेस गरिरहेका छन् । मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पौडेललाई मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।
दाहालले हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका छन् । राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।
सरकारले यसै वर्ष नौबिसे–नागढुंगा सुरुङ्गमार्गको निर्माण सम्पन्न गरेको बताउँदै पूर्वपश्चिम राजर्माको स्तरउन्नती वृद्धि गरिएको, सुनकोशी मरिङ डाइभर्सनको टनेल ब्रेकथ्रु भएको बताएका छन् । यसै वर्ष ३ हजार हेक्टर क्षेत्रफलमा थप सिचाइ पुगेको बताउँदै राष्ट्रपति पौडेलले विद्युत उत्पादन २ हजार ४० मेगावाट पुगेको बताए ।
राष्ट्रपति पौडेलले राष्ट्रको अर्थतन्त्रमा सुधार आएको दाबी गरे । पाँच लाख भूमिहिनहरुको बसोबासलाई व्यवस्था गरिने, घर व्यवहार कारोबारलाई व्यवस्थित बनाइने बताए । नाप नक्सा कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने छ ।