images

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं– सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसका साथै सभामुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत २०८१ जेठ १ गते मङ्गलवारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकको तर्फबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेस गर्नुहुने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुहुने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहालले सम्वत २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने, अध्यक्षले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्नुहुने, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन), २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबन्दा सम्म संसद् अवरोध गर्ने जनाएको छ ।