images

ओलीलाई शेखरको जवाफ: राजाको धम्कीबाट नडराएको कांग्रेस एमालेसँग डराउँदैन

काठमाडौं–नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । डा कोइरालाले उक्त कुरा बताएका हुन् । उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए । उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए ।

बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर नेता कोइरालाले काँग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन । उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको आरोप लगाए । उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए ।

उनले भने, ‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्न सक्ने अवस्थामा छैनौँ । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ । यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली काँग्रेसले । साथीहरूले एउटा कुरा भने, तपाईँहरूले गृहमन्त्रीलाई बोल्न दिनुभएन । बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा.रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरत मोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ । तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । यो क्लियर हुनुपर्छ । हामीले संसद् अवरुद्ध गर्ने कारण यही हो । लोकतान्त्रिक अवस्थामा संसद् अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ती आफ्ना ठाउँमा छन् । हामीले केही भनेको छैन । रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन । छानबिन समिति बनाउनुस् भनेका छौँ । गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटक पटक आएको छ । उनले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नहुन्छ रु यो कुरामा सत्ता पक्षका साथीहरू, दलहरू स्विकार्ने पक्षमा देखिनुभएको छैन । यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ । पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, काँग्रेसले सदनमा राखेको हो । कुनै पनि राजनीतिक दलले नेपाली काँग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’

नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए । उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने बताए । नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाए । नेकपा एमाले संसद् विघटन गर्न र यसअघिको संसद् विघटन सही भएको पुष्टि गर्ने पक्षमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाए । उनले अर्को फरक प्रसङ्गमा जनता समाजवादी पार्टी, नेपाल फुटेको नभई फुटाइएको आरोप लगाए ।