images

सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन एकीकृत समाजवादीकाे माग

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

बुधवार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको बताएका हुन् । कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले समस्या समाधानका लागि छानबिन समिति गठन गर्न आवश्यक रहेको बताए । बैठकले मुलुकका विभिन्न स्थानमा लागेको डढेलो र आगलागीमा परी घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ ।

प्रवक्ता खतिवडाले लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तीय तथा मौद्रिक नीतिहरूमार्फत अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न पनि सरकारलाई सुझाव दिएको छ ।