images

कञ्चनपुरको पुनर्वासमा बाल्टिन बम विस्फोट

काठमाडौं– जिल्लाको पुनर्वासको हुलाकी राजमार्ग खण्डमा बाल्टिन बम विस्फोट भएको पुष्टि भएको छ । पुनर्वास नगरपालिका–१ को ढक्कामा आज दिउसो बाल्टिन बम विस्फोट भएको हो ।

विस्फोट भएको स्थानमा  नेपाल प्रहरी र नेपाली सेना पुगेर घटनाको बारेमा स्थलगत अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रमुख डिएसपी उमेशराज जोशीले बताए ।

स्थानीयले विस्फोट भएको जानकारी प्रहरीलाई गराए बित्तिकै प्रहरी घटना स्थलमा पुगेर नेपाली सेनाको बम विस्फोजल टोलीलाई खबर गरेर सेनाले विस्फोट भएको पुरानो बाल्टिन बम रहेको पुष्टि गरेको हो ।

पुरानो अवस्थामा खिया लागेको अवस्थामा रहेको बाल्टिन बम विस्फोट भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी जोशीले बताए ।

उनले भने “विस्फोटले घटनास्थलको सडकमा ३ मिटर जति गहिरो र २ मिटर चौडाइ सडकमा गहिरो खाडल परेको तर जनधनको कुनै पनि क्षति नभएको बताए ।”
अहिले बम विस्फोट भएको खाडल पुरेर प्रहरी र सेना फर्किएको उनले बताए । तत्कालीन द्वन्दकालको समयमा सो बम राखेको हुन सक्ने अवस्थामा रहेको देखिएको डिएसपी जाेशीले बताए ।