images

कांग्रेसले उठायो सभामुखको कार्यशैली प्रति प्रश्न, संसदीय मर्यादामा नबसेको आरोप

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको कार्यशैली प्रति प्रश्न उठाएको छ । कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभामुखले आफ्नो मर्यादा भुलेको आरोप लगाए ।

उनले प्रतिपक्षी दलको विरोधका बाबजुद संसद् बैठक अघि बढाएर मुठभेड गराउन खोजेको बताए । प्रमुख सचेतक लेखकले भने,’हिजो हामीले भिडन्त गरेकै होइन। सभामुख जीले बैठक सञ्चालन गर्दा उहाँले आफ्नो तटस्थता मर्यादा कायम राख्नु पर्छ भनेर हामीले ध्यानाकर्षण गराउन खोजेका छौं ।’

उनले थप्दै भनेका छन्,, ‘विपक्षी दल उभियो भने मात्रै पनि संसद् अवरोध मानिन्छ । एक जना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन् । तर सिङ्गो प्रतिपक्षी दल बेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ । सम्माननीय सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो । तर, त्यस्तो भूमिका उहाँबाट भएन । हामीले सभामुखलाई तटस्थता र निष्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

नेता लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रूपमा राखिएको बताए ।