काठमाडौं–संसद्को मुख्य काम कानुन बनाउने हो । तर, सार्वभौम संसद् जिम्मेवारी पूरा गर्नबाटै वञ्चित भएको छ । धमाधम कानुन बनाउनुपर्ने बेलामा जनताबाट निर्वाचित प्रतिनिधिहरू भने दलीय स्वार्थका लागि लडिरहेका छन् । पछिल्लो पटक संसदमा कांग्रेस र एमालेबीच टकराबको स्थिति आएको छ । सतही रूपमा हेर्दा संसद्को अवरोध सहकारी पीडितलाई न्याय दिलाउनका लागि जस्तो देखिएपछि अन्तर्यमा यो प्रमुख दुई दलबीचको सत्ताको लडाइँ नै हो । अझ बिहीबारको संसद् बैठकमा त संसदीय मर्यादा विपरीतका दृश्य नै देखिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेरेपछि एकाएक प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेस जसरी पनि सरकार ढाल्ने रणनीतिमा देखिएको छ । अर्कोतर्फ एमाले कुनै पनि हालतमा कांग्रेसलाई सत्तामा आउन नदिने दाउमा छ । यसको चेपुवामा परेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल । अनि रास्वपा सभापति समेत रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सत्ताको गोटी बन्न पुगेका छन् । यही राजनीतिक परिवेशमा दलहरूले संसदमा तमासा नै देखाउन थालेका छन् ।
कांग्रेसले सहकारीको मुद्दा उचालेर गृहमन्त्री लामिछानेमाथि निशाना बनाएको छ । जसको प्रभाव सरकार पनि पर्छ अर्थात् रास्वपा सत्ताबाट बाहिरिने अवस्था आए सरकार ढल्छ । कांग्रेसको भित्री चाहना यही छ । एमाले पनि लामो जोड बलपछि बनाएको गठबन्धन फुटाउने पक्षमा छैन । त्यसैले संसदमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति लामिछाने भन्दा पनि कांग्रेस र एमाले भिडिरहेका छन् । बुधवारसम्म नाराबाजी र अवरोधमा सीमित रहेको संसद्को परिस्थिति बिहीबार एकाएक फेरिएको छ । कांग्रेस र एमोलेका सांसद संसदीय मर्यादा नै भुलेर धकेलाधकेल र भनाभनमा उत्रिए । अझ कांग्रेस उपसभापति धनराज गुरुङले त अलि बढी नै गरे ।
जनताले निर्वाचित गराएर पठाएका सांसदले संसदमा यो तमासा देखाउँदा मतदाताले के सोचे होलान् ? भन्नेसम्म हेक्का राखेनन् । सत्ताको स्वार्थका कारण सांसदहरू सांसदभित्रै भौतिक आक्रमण उत्रन समेत तयार भए । तर, उनीहरू आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन् । बरु एक अर्कालाई आरोप लगाएर आफूलाई चोखो देखाउने प्रयास गरिरहेका छन् ।
संसद्को बिहीबारको तमासापछि दलहरुबीचको तिक्तता झनै बढेको छ । सहमति नजिक पुगेका भनेका दलहरू मोर्चा बन्दीमा लागेका छन् । उनीहरू मेरो गोरुको बाह्रै टक्का भने झैँ अडानमा अडिग देखिएका छन् । यसले सहमतिको सम्भावनालाई झनै कमजोर बनाएको छ ।
हुन त संसदमा यस खालका गतिविधिहरू यसअघि पनि नभएका होइनन् । कुर्सी भाँच्नेदेखि हानाहानसम्मका घटना पनि भएका छन् । तर, गलत सँगै गलत नै हुन्छ । आफ्नो स्वार्थ पूरा गर्न संसदमा अमर्यादित गतिविधि गर्नु शोभनीय होइन । सांसदहरूको यस किसिमको व्यवहार र गतिविधिले मत दिएर पठाएका नागरिकमा भने वितृष्णा पैदा भएको छ ।