images

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं–सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ । त्यसै गरी सभामुखले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८१ जेठ १ गते मङ्गलवारका दिन गरेको सम्बोधनको लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेस गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुहुने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा आज राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने र अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने , प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

अध्यक्षले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्ने , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन), २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।