काठमाडौं–विपक्षी दलहरूको बैठकले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्ने निर्णय गरेको छ । आइतबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षता बसेको विपक्षी पाँच दलको बैठकले रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको हो ।
राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन सहमत भएका हुन् । जवाफ चित्त बुझे संसद् अगाडि बढ्छ नत्र प्रधानमन्त्रीले लिने विश्वासको मत समेत प्रभावित हुन सक्नेमा उनीहरू एक मत भएका हुन् । प्रधानमन्त्री प्रचण्डले साेमबार विश्वासकाे मत लिन लागेका छन् ।
यसअघि शनिवार सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भएका थिए । सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ ।