images

चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णविद्युतिकरण पालिका घोषणा गरिएको छ ।

शनिवार गाउँपालिकाको वडा नम्बर १ कालिङमा आयोजित एक कार्यक्रममार्फत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्णविद्युतिकरण घोषणा गरेका हुन् । गाउँपालिका पूर्णविद्युतिकरण भएसँगै स्थानीयहरू हर्षित भएका छन् ।

गाउँपालिकालाई पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताए । उनले इच्छा कामनामा पूर्णविद्युतिकरण भने पनि घरघरमा बिजुली बाल्न केही समय लाग्ने बताए । कार्यकारी निर्देशक घिसिङले घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्णविद्युतिकरण घोषणा गरिएको बताए । उनले मिटर वितरण र मिटर जोड्ने कामलाई तीव्रता दिने भन्दै गाउँपालिकाले सहज करण गर्न आवश्यक रहेको बताए ।

निर्देशक घिसिङले विपन्न समुदाय बसोबास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न वर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताउनु भयो । इच्छा कामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले धेरै सहयोग गरेको उनको भनाई छ । उनले बिजुली नपुगेको ठाउँमा बत्ती बाल्ने प्रमुख दायित्व प्राधिकरणको भएको भन्दै एक वर्षभित्र देशका शतप्रशितमा ठाउँमा बिजुली बाल्ने बताए । उनले पहिले विद्युत् माग्दै नागरिक प्राधिकरणमा धाउनुपर्ने अवस्था रहेको बताए । उनले २० युनिटसम्मको बिजुली महिनाको जम्मा ३० रुपैयाँमा उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँले इच्छा कामनामा विद्युत् मर्मत सम्भारका लागि सानो युनिट खोल्ने तयारी गरिएको भन्दै यहाँका चेपाङलाई नै रोजगार दिने बताए ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक वर्षमा इच्छा कामनामा द्रुत गतिमा विद्युतिकरणको काम गरिएको बताए । उनले विद्युत् प्राधिकरण र स्थानीयको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको बताए । अध्यक्ष गुरुङले विशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्बर १ र २ मा बिजुली पुग्न नसकेको क्षेत्रको विद्युत् पु¥याउन पालिकामा एक वर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत् प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भएको बताए । उनले गाउँपालिका र प्राधिकरणबाट विपन्नलाई निःशुल्क मिटर बक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताए । लालपुर्जा नभएकालाई मिटर बक्सका लागि एक हजार धरौटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने बताए ।

इच्छा कामना गाउँपालिकामा करिब ६२ सय घरधुरी छन् । गाउँपालिकामा विद्युतिकरणका लागि १५ करोड ४७ लाख खर्च भएको छ । त्यसमा वडा नम्बर १ मा १ करोड ७५ लाख,वडा नम्बर २ मा ४ करोड ६७ लाख,वडा नम्बर ३ मा ४६ लाख,वडा नम्बर ४ मा १ करोड २४ लाख,वडा नम्बर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्बर ७ मा ५३ लाख बजेट विनियोजन भएको थियो । यस योजनाअन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको छ । प्राधिकरणको निर्देशनअनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटर बक्स उपलब्ध गराइरहेको छ । पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा स्थानीयलाई निःशुल्क मिटर बक्स समेत वितरण गरिएको थियो ।