images

संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक

काठमाडौं– सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरूले बताएका हुन् । तथापि सहमतिले अन्तिम रूप भने पाएको छैन । कांग्रेस कार्यदलका सदस्यहरू आन्तरिक छलफलका लागि संसदीय दलको कार्यालयमा गएपछि केही बेरका लागि कार्यदलको बैठक रोकिएको छ ।

उनीहरूसँग महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गर्दै छन् । नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक रहेको र केही कुरा मिल्न बाँकी रहेको बताएका छन् । समितिको कार्यादेशले अन्तिम रूप नपाउँदा संसद् बैठक प्रभावित भएको छ ।

बिहान ११ बजेका लागि तय प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको भए पनि बैठक अझै बस्न सकेको छैन । समितिको कार्यादेशमा सहमति नभई बैठक अघि नबढाउन भनेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । कार्यदलमा कांग्रेसबाट बद्री पाण्डे, एमालेबाट महेश बर्तौला र रास्वपाबाट सन्तोष परियार छन् भने सरकारको तर्फबाट कानूनमन्त्री गिरीले संयोजन गरिरहेका छन् ।

यसैबीच राष्ट्रियसभाको बैठक पनि सारिएको छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित भएको पनि सुरु हुन सकिरहेको छैन ।