images

प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शङ्का नगरे हुन्छः नेपाल

काठमाडौं–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शङ्का गर्न जरुरी नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरूलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शङ्का नगर्न र दुबिधा नपाल्न पनि आग्रह गरे । प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने स्पष्ट पारे ।

उनले भने,‘भोली प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुबिधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शङ्का गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौँ ।’

अध्यक्ष नेपालले संसद्लाई सहज ढङ्गले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने समेत बताए ।