काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । काँग्रेसको विरोधपछि बैठक मङ्गलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औँला ठड्याउने काम भइरहेको बताए ।
उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्नुभयो । अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर विरोध जनाएपछि बैठक मङ्गलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे ।