images

कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताएका छन् ।

सोमवार विश्वास मत पाएपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गरे । नेपाली कांग्रेसले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा बिरोध जनाएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठुलो मूल्य चुकाउने चेतावनी दिएका थिए ।

उनले भने,‘नेपाली काँग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ । आज काँग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ । जरुरी प¥यो भने १०,१२ पटक विश्वासको मत लिन्छु ।’

प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने बेलामा काँग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलङ्कको रूपमा स्थापित हुने चेतावनी दिएका थिए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रधानमन्त्री बोलिरहँदा समेत प्रमुख प्रतिपक्षी काँग्रेसले बेल घेराउ र नाराबाजी गरिरहेको थियो । कांग्रेसको अवरोधकाबीच पनि प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन् ।