images

सहकारी प्रकरणमा कांग्रेसले सडक र सदनबाट आन्दोलन चर्काउने

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सदन र सडक दुवै ठाउँबाट आन्दोलन चर्काउने भएको छ । सोही आन्दोलनलाई मूर्त रूपमा दिनका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

बैठक जेठ ९ गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बताइएको छ ।

सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा पुगेको हो । आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चा बन्दी गर्ने निर्णय गरेको थियो ।