images

आफू जोगिन अरुलाई डाम्दै रवि ! गर्लान त कारबाही ?

काठमाडाैं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा दिएको जवाफलाई लिएर कांग्रेस थप चिढिएको छ । कांग्रेसका केही नेताहरुको नामै किटान गरेर लामिछानेले सदनमा छानबिन समिति बनाउन चेतावनी दिएपछि कांग्रेसले यसको खुलेरै प्रतिवाद गर्दै आएको छ । लामिछानेले सांसदहरुमाथि अपहेलना गरेको भन्दै कारबाही गर्न कांग्रेसका केही सांसदहरुले सभामुखलाई पत्रसमेत काटेका छन् । लामिछानेको जवाफले संसदमा फेरि विवाद उत्पन्न हुने संकेत देखाएको छ ।

नेपाली कांग्रेसका केही सांसदहरु उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि थप आक्रामक देखिएका छन् । आइतबार संसदको रोष्ट्रमबाट लामिछानेले कांग्रेसका केही नेताहरुको नाम नै तोकेर विभिन्न प्रकरणमा मुछिएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । यही विषयलाई लिएर कांग्रेस लामिछानेविरुद्ध थप आक्रामक बनेको छ । लामिछानेले कांग्रेस महामन्त्री गगन थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा रकम हिनामिना गरेको, कृषि अनुदानको रकम दुरुपयोग गरेको भन्दै उनीमाथि छानबिन समिति गठन गर्न माग गरेका थिए । उनले दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाउँदै संसदबाट हटाउन चेतावनी दिएका थिए ।

तर, लामिछाने आफूमाथिको आरोपलाई ढाकछोप गर्न अरुमाथि खनिन थालेको टिप्पणी भइरहेको छ । सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समितिको माग गरेको कांग्रेसलाई साइजमा ल्याउन लामिछानेले तर्साएको आरोप लागिरहेको छ । अनुसन्धान गर्ने र कारबाहीको दायरामा ल्याउने निकायमा भएपनि लामिछानेले कामभन्दा पनि बढी चेतावनी दिनेबाहेक अर्को केही गरेका छैनन् । महामन्त्री थापाले लामिछानेले आफैंले निवेदन दिएर ऋण लिएको प्रमाण आफूसँग रहेको बताएका थिए । जवाफमा लामिछानेले त्यसको प्रमाण किन नदिएको भनी प्रश्न गरिरहेका छन् । तर, उनको प्रश्न बचाउबाहेक अर्कोमा केन्द्रित भएको देखिदैन ।

त्यति मात्र होइन, लामिछानेले सांसदहरुले नै कूटनीतिक राहदानी (रातो पासपोर्ट) को दुरुपयोग गरेको आरोप लगाएका थिए । प्रतिनिधि सभाको रोष्ट्रमबाट लामिछानेले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको छ भन्दै उनीमाथि कारबाहीको मागसमेत गरिएको छ ।