images

सहकारी ठगीविरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने, संसदीय छानबिनको माग यथावत्

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा छलफल हुने जनाइएको छ । बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको नेताहरूले बताएका छन् ।

संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रूपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेसको तर्क छ । साथै बैठकले गृहमन्त्री लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफ्नो अडान नछोड्ने भएको छ । बैठकमा सहकारी पीडितको बचत फिर्ताका लागि माग गर्ने निर्णय पनि भएको छ ।

कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । सो अनुसार शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा बृहत् विरोध प्रदर्शन गर्ने जनाइएको छ । यस्तै गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरू चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ । त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने गरी कांग्रेसले मिति प्रस्ताव गरेको छ ।