images

सहकारी सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं–सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।

आजको बैठकमा सत्ता पक्षबाट काँग्रेसले माग गरेको विषयहरूमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा काँग्रेसले सहमति जनाए कार्यादेश टुङ्गो लाग्ने बताइएको छ । यदि सहमति जुट्न नसके कार्यादेश टुङ्गो लाग्ने छैन । कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् ।

नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत हुन नसक्दा सहमति जुट्न सकेको छैन ।