
काठमाडौं– महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्न केतु महाबिहार पुनः निर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरूको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । उनले महानगरपालिका भित्रका सम्पदा पुनः निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए ।
उनले भने, ‘महाबिहार बनाउँदा वडाध्यक्षहरूलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकै पटक माग्दा खेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ । म सधैँ भन्छु, एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो । सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ । हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’
मेयर साहले सम्पदा पुनः निर्माणका लागि आवश्यक बजेट एकै पटक माग्न पनि वडा अध्यक्षहरूसँग आग्रह गरे। महानगरपालिकाले सम्पदा पुनः निर्माणको लागि एकै पटक सबै बजेट माग्दा दिँदैन की भन्ने आशङ्का नगरी एकै पटक बजेट मागेर सबै पुनः निर्माणका कामहरू एक पटकमा सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।