images

चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना

काठमाडौं– चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ ।

चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भार दहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो ।

चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिङ्गो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ । पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरू अघि सारेका छन् ।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेस प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरूको माग रहेको बताए । उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्ने बताए । उनले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरूको माग रहेको स्पष्ट पार्नुभयो । संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि माग रहेको जानकारी दिनुभयो । त्यस्तै भूमिहीनको नाममा मासिएको वनजंगलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहीन तथा सुकुम्वासीहरूलाई भूमिको व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।

त्यस्तै चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरूलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरूलाई कारबाही गर्न पनि माग गरिएको छ ।

धर्नामा रहेकाहरूले आफूहरू तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने सङ्घर्षको कार्यक्रम जारी राख्ने बताएका छन् ।