images

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं–सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जस अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधनमा उल्लिखित आ।व। २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, आ।व। २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने, प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने, सभामुखले प्राप्त संशोधनहरू र राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधनमा उल्लिखित आ।व। २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट सम्वत २०८१ साल जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्षले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र अध्यक्षले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।