images

नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ सम्पन्न

काठमाडौं–नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ सम्पन्न भएको छ ।

पर्साको वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य सङ्घ एवं पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो । भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मिणाले भारत–नेपालबीचको व्यापार बिस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताए । नेपाल–भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दूतावास तयार रहेको उनको भनाइ थियो । यही विषयमा केन्द्रित रहेर सम्मेलनमा छलफल गरिएको उनले जानकारी दिए ।

सम्मेलनमा इन्डिया—नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहु आयामिक सम्बन्धबारे चर्चा समेत भएको बताए । साथै नेपाल—भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दूत ईश्वरराज पौडेलले नेपाल—भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अवलम्बन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए । दुई तिहाइ भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरूको समाधानका लागि समय अनुकूल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताए ।

उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल—भारत बीचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताए ।

सम्मेलनमा सहभागी वक्ताहरूले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आ–आफ्ना धारणा राखेका थिए ।