images

कांग्रेस सहितका विपक्षी दलको बैठक जारी

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक बसिरहेको छ । संसद् बैठक अघि थप रणनीति बनाउन नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको कांग्रेस संसदीय दल नेता सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

बैठकमा कांग्रेस सहित राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरेको हो।

कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।

तर सदनमा सभामुख देवराज घिमिरेले प्रतिपक्षीको विरोधका बाबजुद मर्यादा पालकहरू खटाएर बैठक सञ्चालन गरेका थिए । आजको बैठकमा पनि मर्यादा पालकहरूलाई प्रतिपक्षीलाई रोक्न लगाएर बैठक सञ्चालन गरिने जनाएको छ । सभामुखको उक्त कदम प्रति विपक्षी दलका नेताहरू विरोध जनाउँदै आइरहेका छन् ।