images

सभा अवरोधपछि अध्यक्ष दाहालले भने, ‘जनताले बाटोमा भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो’

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचीमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रूपमा पेचिलो बन्दै गएको बताए । अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको बताए।

नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको बताए । पहिला संसद्को लोगो फुकालेर सार्वजनिक सवारीसाधनमा चढ्नुपर्ने स्थिति रहेको भए पनि अहिले त्यो भन्दा गम्भीर स्थिति सिर्जना भएको बताए । उनले जनताले बाटो बाटोमा यी सांसदहरू भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आउन सक्ने बताए । राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आइतबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ ।