images

देउवा निवास बुढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।

पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढिरहँदा प्रचण्ड र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेशको विषय भने टुङ्गो लाग्न सकेको छैन । शनिवार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरू टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो ।

कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्‍याउने बताइएको छ ।
कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने चेतावनी दिँदै आएको छ । तर सभामुख देवराज घिमिरे भने मर्यादापालकहरु लगाएर आज बस्ने प्रतिनिधि सभामार्फत नीति तथा कार्यक्रम पारित गर्ने मनसायमा देखिएको स्रोतले जनाएको छ ।