images

१५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ गते काँग्रेसले संसदमा विरोध गरे पनि अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले संविधान बमोजिम जेठ १५ गते संसदबाट बजेट ल्याउनुपर्ने प्रावधान रहेको बताए । उनले संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यन गर्न नमिल्ने भन्दै १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको बताए । उनले नेपाली काँग्रेसले उठाएको विषयमा सरकार सकारात्मक रहेको बताए । उनले नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्नुपर्ने बताए । उनले काँग्रेसले संसद्को अवरोध राखे पनि सरकारले बजेट अन्य बाटोबाट भन्दा पनि सांसदभित्रबाट ल्याउने बताए ।

उनले भने,‘ संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ । नेपाली काँग्रेसलाई हाम्रो पटक–पटकको आग्रह हो । संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यन गर्न सक्दैन । जेठ १६ गते बजेट ल्याउने सुविधा सरकारलाई छैन । नेपाली काँग्रेसले जे विषय उठाउनुभएको छ । उठाउने कुरामा रोक्नुस् भन्दैनौँ तर सहमतिमा आउनुपर्छ भन्छौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट यही संसदबाट ल्याउँछौँ । नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्छ । काँग्रेस सबै कुरा बुझेको राजनीतिक शक्ति हो । लामो संसदीय अभ्यासबाट आएको र भोली संसदमा आएर सरकारमा पुग्ने काँग्रेस हो भने संवैधानिक व्यवस्थाको बाध्यतालाई बुझेर सहजिकरण गर्छ । अवरोध गरिराख्नु भयो भने पनि अरू बाटोबाट भन्दा पनि सांसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीलाई बजेट पढ्न नाराबाजीले असर प¥यो भने पनि कानमा कपास राखेर भए पनि बजेट पढ्नु पर्ने हुन्छ । सरकारले प्रतिपक्षलाई पेल्न खोजेका छैनौ सहमतिमा ल्याउन खोजेका छौं । प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरूलाई स्वीकार गर्न तयार उहाँहरूले भनेका सहकारीहरूको नाम राख्न पनि तयार,गोरखा मिडिया राख्न पनि तयार छौं । तर गोरखा मिडियाका गार्डदेखि एमडीसम्म संसदीय समिति जान मिल्छ की मिल्दैन । त्यसैले सत्तापक्षले होइन काँग्रेसले बलमिचाइँ गरेको छ ।’

उनले सरकारले प्रमुख प्रतिपक्षलाई पेल्न नखोजेको भन्दै सहमतिमा ल्याउन खोजेको बताए। उनले प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरूलाई स्वीकार गर्न तयार रहेको बताए ।