images

काठमाडौं महानगरपालिकाले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ

काठमाडौं– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्ट्याटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए । शनिवार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनि लेखेका थिए । उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडी फोहोर राखिदिएको भिडियो हालेका थिए । त्यस प्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रूपमा लिएको बताए । उनले रिङ रोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।

उनले भने – ‘हामीले सामान्य रूपमा लिएका छौँ । उहाँले सल्लाह दिइरहनुभएको छ । मुखले बोल्नु भन्दा पनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन । चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो । उहाँहरूले बनाउँदिन भनेपछि नेपाल सरकारले बनाउँछौँ । हाम्रो छलफल भइरहेको छ । उहाँले स्ट्याटसमा लेखेको कुरा सत्यता छैन । हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्र राष्ट्र चीनसँग पूरै रिङ रोड बनाउने सम्झौता भएको छ । यद्यपि नेपाल सरकारले आफ्नो आन्तरिक बजेटबाट पनि यसपालि केही निर्माण गर्न बजेट व्यवस्थापन गरिसकेका छौँ । जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दै छौँ । न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ, र सडक विभागले यसलाई रोकेको छ । कलङ्कीदेखि महाराजगन्जको कुरा मैले व्यक्तिगत रूपमा सुझावको रूपमा लिएको छु । सल्लाहको रूपमा लिएको छु । सल्लाहको लागि उहाँलाई धन्यवाद । मेरो कुनै आपत्ति छैन । यसलाई सकारात्मक रूपमा लिएको छु । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानुनसम्मत छैन ।’

उनले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको बताए ।