images

एक वर्षमा सङ्घीय सांसदहरूकाे बैठक भत्तामा मात्रै साढे ७ करोड खर्च

काठमाडौं– अघिल्लो आर्थिक वर्ष २०७९/८० मा संसद्का दुवै सदनको बैठक भत्ताबापत मात्रै साढे ७ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्षभर ३ सय ९६ घण्टा चलेको दुवै सदनको बैठकको भत्ताबापत राज्यकोबाट साढे ७ करोड रुपैयाँ खर्च भएको महालेखा परीक्षाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको तथ्याङ्क अनुसार प्रतिनिधिसभा २०७९ को प्रथम अधिवेशन १ सय १० दिन चालु रहेकोमा २९ दिनमा जम्मा २८ पटक बैठक बसेको थियो ।

दोस्रो अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ६९ दिनमा ६५ पटक बैठक बसेको थियो । प्रतिनिधिसभा बैठक उक्त वर्ष कुल २ सय ९६ घण्टा ३० मिनेट बसेको थियो । राष्ट्रिय सभातर्फ भने १३औँ अधिवेशन १ सय १० दिन चालु रहेकोमा १८ दिनमा १९ पटक र १४औँ अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ३९ दिनमा ४८ पटक बैठक बसेको थियो ।

राष्ट्रिय सभा कुल १ सय घण्टा ६ मिनेट बसेको पाइएको छ । यसरी प्रतिनिधिसभाको प्रथम र दोस्रो अधिवेशन र राष्ट्रिय सभाको १३औँ र १४औँ अधिवेशनको बैठक भत्ताबापत ७ करोड ५६ लाख रुपैयाँ खर्च भएको महालेखाको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।