images

जसपा नेपालले गर्‍यो ११ जनालाई कारबाही

काठमाडौं–जनता समाजवादी पार्टी नेपालले ११ जनालाई कारबाही गरेको छ । जसपा नेपालको विधान, घोषणा–पत्र, नीति, कार्यक्रमविरुद्ध गतिविधि गरेको ठहर गर्दै कोसी प्रदेश कोषाध्यक्षसहित ११ जनालाई सदस्यतासमेत नरहने गरी हटाइएको हो । उनीहरूमाथि भर्खरै फुटेर अशोक राई नेतृत्वको जसपामा लागेको आरोप छ ।

जसपा नेपालको पार्टी विधानको धारा १३ को (६), धारा १२७ को (१), (७) र (११), धारा १२८ को (१) र (९) बमोजिम व्यक्तिहरूलाई तत्काल लागू हुने गरी पार्टी सदस्यसमेत नरहने गरी निष्कासनसहितको कारबाही गरिएको प्रदेश अध्यक्ष दीपक याख्खाले बताए । जसपा नेपालले प्रदेश निर्वाचन आयोग अध्यक्ष विनोद तामाङ प्रदेश लेखा परीक्षण आयोग अध्यक्ष केबलराम राई प्रदेश कार्यकारिणी समिति सदस्य राम माण्डुपा राईलाई निष्कासन गरेको हो ।

यस्तै प्रदेश कार्यकारिणी समिति सदस्य मिना राई, प्रदेश सदस्य मनकला लावती प्रदेश सदस्य रिता राई, प्रदेश सदस्य सनम राजवंशी प्रदेश सदस्य लिला बहादुर सुनुवार प्रदेश सदस्य गौरीमान राई र प्रदेश सदस्य मिरा कार्कीलाई पनि कारबाही गरेको छ ।