images

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन

काठमाडौं– सरकारले पहिलो पटक प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको समेत व्यवस्था गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले छोरीलाई शिक्षा र सीप प्रदान गर्न र उद्यमशीलता विकास गर्न सो कार्यक्रमको घोषणा गर्दै आगामी आर्थिक वर्षका लागि बजेटको समेत व्यवस्था गरेको हो ।

मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमा सो कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको बताए । त्यसै गरी सरकारले युवा महिलाहरूको आवश्यकता, चुनौती र अवसरबारे व्यापक छलफल गर्न आगामी आर्थिक वर्ष भित्र युवा महिला राष्ट्रिय सम्मेलन पनि गर्ने योजना तय गरेको छ ।

मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाउने बताए ।