images

आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ७१ औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले ओरोहीहरुको भविष्यको सुरक्षा र खास गरी शेर्पा जातीको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण साबित हुने जिकिर गरे ।

उनले आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने बताए । उनले आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताए । उनले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र हिमालमा फोहोर मैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दै हिमालमा प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र हिमालमा फोहोर मैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दै हिमालमा प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको छ । यसका लागि नेपाल सरकारले हिमाल जोगाऔँ, मानवता बचाऔँ भन्ने नाराका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति अघि सारेको छ । सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहनेछ । ओरोहीहरुको भविष्यको सुरक्षाका बारेमा खास गरी शेर्पा जातीको जीविकासँग सम्बन्धित विषयमा । आरोहीहरूको हक हितको निम्ति र उनीहरूको सुरक्षाको निम्ति आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ । म तपाईंहरुलाई के विश्वास दिलाउँछु भने अर्थ मन्त्रालयसँग कुरा गरेर आरोही कल्याणकारी कोष बनाउने पहल हुनेछ । यस क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाको बारेमा ध्यानाकर्षण भएको छ । त्यसमा पनि मैले पहल लिनेछु । यस क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल गर्नेछु ।’

प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भइसकेको बताए । उनले हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको उल्लेख गरे ।