images

ठगहरूले केही ठुला सहकारी बदनाम र समस्याग्रस्त बनाएः ओली

काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन् ।

सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको ओलीको तर्क थियो । उनले सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको जिकिर समेत गरे । पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौंमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए ।

उनले सहकारीको माध्यमबाट भए पनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।

उनले भने, ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैर सहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठुलो सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती सङ्कटग्रस्त छन् । तर साँच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् पनि । ती त्यसका आफ्ना नियमहरू छन् । ती नियम अन्तगत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्छ । महिला दिदीबहिनीहरूले घर, परिवार र देश केही पनि पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनु पर्दछ । ’

अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्ने गरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको समेत बताए ।