images

आफ्ना सांसदलाई आश्वस्त पार्दै प्रचण्डले भने, माधव नेपाल मेरै सल्लाहमा देउवाकहाँ जानु भएको हो

काठमाडौं–पछिल्लो समय सत्ता गठबन्धन भत्किन्छ कि भन्ने आँकलन भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता कुनै पनि हालतमा नभत्तिकने प्रस्ट पार्दे आएका छन् । खास गरी सत्तारुढ दल भित्र आफ्नो अपमान भएको आभास गरिरहेका माधव नेपाल घरी सत्ता पक्ष त घरी प्रतिपक्षी कहाँ पुग्न थालेपछि सत्ता गठबन्धनमा अनेकौँ कोणबाट व्याख्या भइरहेको छ ।

केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवासमा भएको प्रतिपक्षी दलको बैठकमा सहभागी समेत भए । तर त्यसको भोलिपल्ट बिहीबार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी सत्ताबाट नबाहिरिने भन्दै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आश्वस्त पारे ।

तर त्यो आशङ्काबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको संसदीय दलको बैठकमा नेपाललाई आफ्नै सल्लाहमा भेट्न गएको भन्दै आश्वस्त पारे । बैठकमा प्रधानमन्त्री प्रचण्डले बोलेको कुरालाई उद्धृत गर्दै एक माओवादी सांसदले भने,‘सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशङ्का गर्नु पर्दैन । माधवजी उता (विपक्षी गठबन्धन) मा गएको भन्ने कुरा केही होइन । उहाँ मेरै सल्लाहमा जानु भएको हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘उहाँले जानुअघि मसँग सल्लाह गर्नुभएको थियो । विपक्षी अलाइन्स बनाउन जानु भएको होइन ।’

नेपाल भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि अनेकौँ प्रपञ्च गरेको भन्दै गठबन्धनभित्र असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।