images

आगामी १० दिनमा मनसुन भित्रिने

काठमाडौं– नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरूको अनुमान छ । मनसुनजन्य विपद्बाट बच्न पूर्व तयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरूले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।

जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए । उनले यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह गरे । राज्यले कुन कुन ठाउँमा कस्तो आपत्कालीन पूर्व तयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुरा गर्दै डा। उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तका सामग्री, खाद्यान्नहरूको सङ्कलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए । उनले गृह मन्त्रालय, आपत् कालिन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद् पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे ।

उनले भने, ‘अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिन्छ । बढीमा १० दिनमा । त्यो बिस्तारै विकसित हुँदाहुँदै सुदूरपश्चिमसम्म पुग्दा लगभग २ हप्ता जति लाग्न सक्छ । अबको हामीसँग समय भनेको तयारीको हिसाबले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको हिसाबले १० दिन मात्रै छ । सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशको हकमा लगभग दुई हप्ताको समय छ । त्यसैले हाम्रो तयारीमा भोलिको दिनमा बढी पानी पर्छ भन्ने प्रक्षेपणमा आइसकेको सन्दर्भमा राज्यले कुन कुन ठाउँमा कस्तो आपत्कालीन समयमा प्रयोग हुने कस्तो सामग्रीहरू पठाउनुपर्ने हो, टेन्ट, खाद्यान्नहरू आजकै दिनसम्म पु¥याइसक्नुपर्छ । बाटो विपद्का कारण अवरोध हुनसक्छ, मौसमका कारण विमानहरू जान नसक्ने हुन सक्छन् । त्यसैले तयारीका लागि सबै निकायहरूले गृह मन्त्रालय, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभागदेखि लिएर स्थानीय र प्रदेश सरकारहरू सतर्क हुने र आजैदेखि जनशक्ति परिचालन गर्नुपर्छ । मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुनेछ ।’

विज्ञ उप्रेतीले मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुने भएकाले आम नागरिकले पनि सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही अनुसार सरकारलाई पूर्वतयारमा जुट्न विज्ञहरूले सुझाव दिएका छन् ।

यता विपद् पूर्वतयारमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरूलाई निर्देशन दिएको बताएको छ । मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्व तयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरूलाई निर्देशन दिएको हो ।

नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरूको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारमा खट्न आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारमा जुटिसकेको बताए । उनले विगतका वर्षहरूको अनुभव र यस वर्ष बढी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गरी आफूहरूले योजना बनाएको बताउनु भयो । उहाँले विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरूको भण्डारण भइसकेको बताए । उनले ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्व तयारी गर्नका लागि निर्देशन दिइसकेको र आर्थिक श्रोत, सामग्रीहरूको सुनिश्चितताका लागि आवश्यक पहल गरिएको जानकारी दिए । उहाँले विभिन्न किसिमको प्रतिकार्यका लागि पहिला नै आकस्मिक कोषहरू छुटाइएको र आवश्यकता अनुसार रकमहरू पनि परिचालन हुने बताए ।

उनले भने, ‘भोलिबाट मनसुन सुरु भएर असोजको १४ सम्म मनसुन रहने पूर्वानुमान छ । हामीले हरेक वर्ष मनसुन सुरु हुनु भन्दाअघि नेपाल रेडक्रस सोसाइटीको तर्फबाट मनसुन प्रिपेयरनेस र रेस्पोन्सको योजना नै बनाएर काम गर्दै आइरहेका थियौँ । तर यस वर्ष हामीले मनसुन प्रिपेयरनेस र रेस्पोन्सको प्लान नबनाईकन समग्र डिजास्टर म्यानेजमेन्टको प्लान बनायौँ । जुनसुकै डिजास्टर भए पनि कसरी तयारी हुनुपर्छ र कसरी रेस्पोन्स गर्ने भनेर वर्षभरमा हुनसक्ने विपद्लाई मध्यनजर राखेर प्लान बनाएका छौं। निश्चित रूपमा मनसुन सुरु भएको सन्दर्भमा हामीले मनसुनमा बढी केन्द्रित रहेर योजना बनाउनु स्वाभाविक नै हो । यसपालि गत वर्षको भन्दा बढी हिट हुन्छ भनिएको छ । ४४ डिग्री भन्दा बढी तापक्रम कतिपय सहरहरूमा पुगिसकेको छ । काठमाडौंमा पनि विगतको वर्ष भन्दा बढी गर्मी महसुस गरेका छौँ । मनसुनको पूर्व तयारीको सन्दर्भमा विगतका वर्षहरूको अनुभव र यसपालि बढी पानी परेर त्यसको क्षति ठुलो हुनसक्छ भनेर पूर्व तयारीलाई त्यत्तिकै ध्यान दिएर काम गरेका छौँ । खास गरी एउटा भनेको जनशक्ति, हामीसँग विभिन्न क्षेत्रमा तालिमप्राप्त जनशक्तिहरू हुनुहुन्छ । तालिमप्राप्त जनशक्तिलाई पूर्व तयारी अवस्थामा राखेका छौं । आर्थिक श्रोत साधनको कुराहरू पनि छ । विभिन्न किसिमको रेस्पोन्सका लागि पहिला नै हामीले छुट्टाएर राखेको फन्डहरू छन् । आवश्यक सामग्रीहरू पनि तयारी अवस्थामा हामीले राखेका छौँ । ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरूको भण्डारण छ । पैसा उपलब्ध गराउने कुरामा पनि हामी केन्द्रित छौँ । ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्व तयारी गर्नका लागि हामीले अनुरोध गरिसकेका छौं ।’

उनले केही स्थानमा पूर्व सूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गरे । उनले विपद्जन्य घटना मात्रै नभई अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरूमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताए ।